शरीरको तौल कत्तिको जोख्नुहुन्छ?

शरीरको तौल कत्तिको जोख्नुहुन्छ?


आज भोलि फिटनेस वा जिम भन्ने बित्तिकै शरीरको तौल सँग सरोकार राख्दछ । जिम भर्ना हुने उद्धेश्य पनि सिधै तौल सँग जोडिएको हुन्छ । एकाध उद्धेश्यहरु विकल्पमा पर्दछन । कसैलाई आफ्नो शरीरको तौल घटाउन परेको हुन्छ, कसैलाई बढाउन परेको हुन्छ भने कसैलाई व्यवस्थापन गर्नु परेको हुन्छ । शरीरको तौल भन्ने बित्तिकै हामी प्राय तौल नाप्ने यन्त्रमा देखिने अंकलाई बुझ्दछौं जुन यन्त्र आज भोलि बजारमा सर्वसुलभ किन्न वा नाप्न पाइन्छ । यही यन्त्रको सुलभताको कारण शरीरको तौलसँग आम मानिसको मानसिकता गाँसिएको हुन्छ ।

अाज भन्दा १०-१५ बर्ष अघिसम्म यसरी सजिलै तौल नाप्न सकिने वातारण थिएन । जिमहरु, डाक्टरहरु र मेडिकल बाहेक फाट्टफुट्ट फुटपाथमा दुई रुपियाँ तिरेर तौल नाप्न सकिन्थ्यो र त्यो समयमा आज जस्तो मानिसहरुको आफ्नो तौलमा त्यति धेरै ध्यान जाँदैनथ्यो । यसकारण मानिसहरुमा आफ्नो स्वास्थ्य स्थिति बारे शरीरको तौलले निर्धारण गर्ने कारण सचेत हुन सकेका थिएनन । धन्य छ आजको सर्व सुलभ तौल मापक यन्त्रहरुका कारण मानिसहरु शरीरको तौल सँग जोडिएको आफ्नो शारीरिक स्वास्थ्य स्थिति बारे जान्न सामर्थ्य राख्दछन । यो त्यहि यन्त्रले हाम्रो मानसिकतामा असर गरेको कुरालाई पनि नकार्न सकिन्न ।

नियमित व्यायाम तौल सम्बन्धि उद्धेश्यमा निहित भए पनि तौल घट्ने वा बढ्ने प्रक्रिया व्यायाम बाहेक अरु थुप्रै कुराहरुले प्रभाव पारिरहेको हुन्छ । कुन समयमा तौल नापेको हुन्छ, त्यो यन्त्रमा पाइला टेक्नु भन्दा अघि के कति भोजन गरेको हुन्छ, मौसम कस्तो छ, कस्तो खालको लुगा लगाएर नापेको छ, जुत्ता सहित वा रहित नाप्ने गरिएको छ जस्ता कुराहरु गौण हुन्छन । प्राय मानिसहरु व्यायाम शुरु गर्ने बित्तिकै तौल घटबढ भइहाल्छ भन्ने कुरामा विश्वास गर्दछन र बारम्बार तौल लिन तल्लिन रहन्छन । कसै कसैको त यो यन्त्र देख्ने बित्तिकै "जोखिहालुम न!" भनेर चढिहाल्छन र सोझै "लौ! झन बढेछ, यति घटेछ या घट्दै घटेनछ" भन्ने मानसिकतामा आफूलाई पुर्याइहाल्छन । यसरी तौल नाप्दा तपाईंको मानसिकतामा कस्तो असर पर्छ भन्ने कुराले नै तपाईंको स्वास्थ्य असर, चाहना र नतिजाको निर्धारण गर्छ भन्ने कुरा पत्यार नलाग्न सक्छ ।

दिनदिनै जोख्नेः
प्राय जिमहरुमा छिर्ने बित्तिकै सजिलै देख्ने गरी तौल नाप्ने यन्त्र "स्केल" राखिएको हुन्छ । कोहि हुन्छन यो स्केल देख्ने बित्तिकै चढिहाल्छन र डिस्प्लेमा देखाएको अंक हेरिहाल्छ्न । अलिकति घट्ना साथ खुशीले गदगद हुन्छ र नघटे वा अलिकति बढे चिन्तित र भावुक हुन्छ । जिम गर्दैमा वा कुनै प्रकारको शारीरिक व्यायाम गर्दैमा द्रुत गतिमा तौल घटबढ हुँदैन भन्ने जानकारी हुनुपर्छ र कोहि जानकारी हुँदाहुँदै पनि तौल नाप्ने बानी परिसकेको हुन्छ । यसरी यस यन्त्रमा देखिने सानो सानो अंकले नै नैराश्यता निम्त्याउँछ भने यो पक्कै अनि राम्रो संकेत होइन, यसले हाम्रो मानसिकतामा व्यायाम गरेर पनि घट्दैन रहेछ भन्ने नकारात्मक असर पर्न सक्छ । व्यायाम गरिसके पछि तौल घटबढ हुनुभन्दा पहिले शरीर भित्र सूक्ष्म रुपमा परिवर्तन भइरहेको, मांश्पेशी बलियो हुँदै गएको र शरीर स्फूर्त भइरहेको सकारात्मक पक्षलाई पनि ओझेलमा पार्न सक्छ र व्यायाम नै त्याग्ने फैसला सम्म पुर्याउन सक्छ । यसैले दिनदिनै जोखेर मनमा तनाव उत्पन्न हुन्छ वा मूड स्विङ्ग हुन्छ भने यो बानी तुरुन्तै हटाइहाल्नुपर्छ ।

हप्तामा एकचोटि जोख्नेः
आफूले जिममा दुःख गरे अनुसार, खानपिनमा ध्यान दिए अनुसार कोही हप्तामा एकचोटि जोख्ने गर्दछ । यसरी हप्ताभरि नजोखी व्यायाम गरी सप्ताहन्तमा जोख्दा केही परिवर्तन नदेखिए अर्को हप्ता कहाँ कमि कमजोरी भएको छ सुधार्न सक्ने मानसिकता बनाउन सकिन्छ । हप्तामा एकचोटि जोखे पनि सधैं एउटै समयमा जोख्ने, पहिले जस्तै परिस्थिति अनुसार जोख्ने बानी बसाल्नुपर्छ जस्तै बिहान सबेरै केहि नखाई, जुत्ता चप्पल वा बाक्लो लुगा नलगाई नाप्ने गर्नु पर्छ ।

महिनामा एकचोटि जोख्नेः
कोही हुन्छन महिनामा एकचोटि मात्र जोख्ने । व्यायाम र खानपिनमा कुनै हेलचेक्र्याईं नगरे अवश्य पनि शरीरमा परिवर्तन आउँछ । स्केलमा परिवर्तन देखिए मन प्रफुल्लित त हुन्छ नै र नदेखिए पनि शरीरमा भएको परिवर्तनलाई नकार्न सकिंदैन । मांशपेशीमा आएको परिवर्तन, बोसो घटेको महशूस, पहिले भन्दा शरीरको बोसो पातलो भएको अनुभव, एक महिना अघी शरीरमा नअट्ने लुगा ठीक हुने जस्ता परिवर्तनले तौल सम्बन्धि मानसिकतालाई सकारात्मकता तिर उन्मुख गराउँछ ।

कहिले काहिँ मात्रै जोख्नेः
नियमित व्यायाम गरी आफ्नो खानपिन र बिश्रामलाई निकै ध्यान दिनेहरु प्राय आफ्नो तौल जोख्दैनन । उनिहरुलाई व्यायाम गरेर आउने आनन्द तौल भन्दा धेरै महत्वपूर्ण हुन्छ, उनीहरुलाई आफ्नो शरीरमा भएको परिवर्तन र व्यायाम गर्ने कार्यक्षमता वृद्धि भएकोमा नै हर्षित हुने गर्छन । यदाकदा जोखिने तौलले भने उनीहरुलाई आफ्नो शरीर कुन स्थानमा छ र के कस्तो कुरामा ध्यान दिने कुराको ज्ञान दर्शाउने गर्छ ।

एउटा स्केलमा देखिने तौलको नम्बरले मात्र शरीरको पूरै स्थितिलाई कहिल्यै मापन गर्न सक्दैन । व्यायाम गर्दै जाँदा (खानपिन अनि बिश्राम पनि साथ साथै मिलाएर) मांशपेशीको तौलमा बृद्धि हुन सक्छ, बोसोको तौल घट्न सक्छ, हाडको तौल बढ्न सक्छ, शरीरमा हुने पानीको मात्रामा परिवर्तन हुन सक्छ । यसरी सूक्ष्म रुपमा पूरा शरीरमा परिवर्तन भइ नै रहेको हुन्छ । आफ्नो तौल जोख्नुमा कुनै आपत्ति हुँदैन तर यदि बारम्बार तौल नाप्दा हरेक पटक यसले मानसिकतामा असर गर्दछ भने यस कुरालाई समयमै निगरानी गर्नु उचित हुन्छ नत्र यसले व्यायाम सम्बन्धि धारणा र आफ्नो कार्य क्षमतामा नकारात्मक असर नपार्ला भन्न सकिन्न । नियमित व्यायाम गर्दै जानुहोस, ठोस आहारमा ध्यान दिनुहोस, शरीर आफैं परिवर्तन हुँदै जान्छ ।

सन्जित श्रेष्ठ

Recent News