फ्याट लस जनावर

फ्याट लस जनावर

आफ्नो स्वास्थ्यालाई कहिल्यै पनि प्राथमिकतामा नराख्ने र कहिल्यै पनि व्यायाम नगर्ने व्यक्तिहरुलाई अलि मोटाउन थालेको, पेटमा बोसो जम्न थालेको हेक्का नै हुँदैन । अलि अलि मोटाउँदा शरीर र स्वास्थ्यमा खासै असर नदेखिने हुँदा कतिलाई त मोटाउनु भनेको के हो पत्तो पनि हुँदैन । शरीरमा बोसो एकै रातमा बेलूनमा हावा भरिएको जस्तो हुसुसु फुलेर आउने हुँदैन, यसको बढ्ने क्रम पनि शरीरको बनावट अनुसार आफ्नै समय कतिमा निर्धारित हुन्छ । आफू मोटाएको मेसो नपाए पनि एउटा समय आउँछ, हरेक मोटो व्यक्तिलाई पेटको आकारले (बोसे आकार) पिरोल्न थाल्छ । चाहे स्वास्थ्यमा समस्या आउन थालेको होस्, चाहे साथिभाई र आफन्तले मोटाएको याद दिलाइदिएको होस् या आफैलाई ऐनामा देखेर होस्, त्यो समयमा मोटाएकोमा गर्व होइन डर लाग्दै जानु स्वभाविक हो ।

हुन त आफू मोटाएको ज्ञान पाएर पनि यसले नराम्रो असर गर्छ भन्ने थाहा हुँदाहुँदै पनि कति त हेलचेक्र्याइँ गरेरै दिन बिताइदिन्छ्न् । कोही भने जागरूक हुन्छन्, शरीरको तौल घटाउन तल्लिन हुन्छन् । यही एउटा लक्ष्य लिएर प्राय मानिसहरु नजिकैको वा आफूलाई पायक पर्ने जिम भर्ना हुन्छ्न्, व्यायाम गर्न । व्यायाम गर्दै जाँदा, थोरै खानपिनमा बदलाव ल्याउँदा शरीरमा परिवर्तन देखिंदै जान्छ त केही समयपछि त्यो घट्ने क्रम न्यून हुँदै जान्छ । तत्पश्चात मानिसहरु हतोत्साही हुन्छन् आफ्नो तौल नघटेको देख्दा वा शरीरमा परिवर्तन नहुँदा । प्राय मानिसहरु यही समयमा व्यायामलाई बाई बाई गर्छन् । अर्को तर्फ त्यति नै समय व्यायाम गरेको व्यक्ति प्रशिक्षकको सहयोग र निगरानीमा पूरै शरीर परिवर्तन गरेर निस्कन्छ । आफ्नो शरीर परिवर्तन गर्न निकै मेहेनत गरेको व्यक्तिलाई यो देख्दा अनौठो लाग्नु स्वभाविक हो र उसले खोजतलास गर्न शुरु गर्छ के कसरी गर्यो उक्त व्यक्तिले भनेर ।

यस्तो छिटो परिवर्तन देखेपछि दिमाग नहल्लिने कुरै भएन किनकि आफूले पनि त्यस्तै मेहेनत गरेको छु झैं लाग्छ । मनमा जिज्ञासा भएपछि सोध्ने प्रशिक्षकलाई नै हो र त्यहि एउटा समय देखि मथिंगल हल्लिन थाल्छ । आजभोलि नेपाली फिटनेस बजारमा छिटो भन्दा छिटो तौल घटाएर एउटा बडिबिल्डर जस्तै बनाइदिने प्रतिस्पर्धा हावी हुन थालेको छ । यस्तो प्रतिस्पर्धा प्राकृतिक रुपमै केवल व्यायाम, खानपिनको व्यवस्थापन र सरल सप्लिमेन्टको प्रयोग भन्दा पनि भिन्न औषधीको प्रयोग गरेर तौल घटाइदिने र ज्यान आकर्षक बनाइदिने होड चल्न थालेको छ । सरसर्ती हेर्दा यहाँ आफू परिवर्तन हुने भन्दा पनि अरुको शरीर परिवर्तन गराइदिनेको प्रतिस्पर्धा चर्केको महशूस हुन्छ । यस्तै एउटा निकै प्रचलित औषधी हो "क्लेनब्युटेरोल" जुन आक्रमक रुपमा शरीरबाट बोसो घटाउन अहिले बडिबिल्डिङ र फिटनेसमा निकै प्रख्यात छ । "यदि घोडालाई दमको रोग भएमा प्रयोग गर्ने औषधी हो क्लेनब्युटेरोल जसले फोक्सोको प्यासेजलाई (फोक्सोमा सास जाने नली) खुल्ला बनाई सास फेर्न सजिलो बनाउँछ । यो औषधी जसले मांशपेसी छिटो बढाउन पनि मद्दत गर्छ, बडिबिल्डिङमा मात्र नभई हामीले खाने मासुको स्रोतका पशुपंक्षीहरुमा पनि प्रयोग गर्न प्रतिबन्धित छ । यसको असर पशुपंक्षीहरुको मासुमा बसिरहने हुँदा हामीले खाँदा पनि यसले हाम्रो शरीरलाई असर गरेकै हुन्छ" भनेर कैयौं मेडिकल जर्नलहरुमा प्रकाशित भएको पाइन्छ ।

अरुले तिब्र गतिमा बोसो घटाएको छ वा ज्यान परिवर्तन गरेको छ भन्दैमा आँखा चिम्लेर त्यही बाटोमा हिंडिहाल्नु हुँदैन । हो, राम्रो शरीर आकर्षित हुन्छ, त्यस्तै बनाउने इच्छा जागेर आउँछ तर यदी कसैले तपाईंलाई सोही "क्लेनब्युटेरोल" प्रयोग गर्न सल्लाह दिन्छ भने एक कदम पछाडि हटेर सोच्नुहोस् । उक्त औषधी प्रयोग गरे पश्चात उसको शरीरमा पर्न गएको दुष्प्रभाव सायदै उसले कसैलाई बताउने साहस गर्छ किनकि ऊ ऐना अगाडि उभिएर आफ्नो शरीर हेर्दा लोभ लाग्दो देखिएकोमा नै मख्ख हुन्छ, सामाजिक संजालमा धेरै लाइक र कमेन्टको वर्षात देख्दा आफ्नो कमजोरीलाई लुकाउन हरदम प्रयास गर्छ । तपाईंको प्रशिक्षकले पनि यो औषधी प्रयोग गर्ने सुझाव दिन्छ वा उक्साउँछ भने पनि मंजुर भइहाल्नु पर्ने जरुरी छैन किनभने त्यो तपाईंको शरीर हो र तपाईं आफ्नो शरीरम के छिराउँदै हुनुहुन्छ भन्ने ज्ञान तपईंमा हुनु जरुरी छ । यो औषधी "सुरक्षित" छ भन्ने सुझाव आउन सक्छ तपाईंलाई, एकचोटि प्रयोग गर्दा यसको प्रभाव थोरै कम होला तर तपाईंको शरीर र स्वास्थ्य त बाँचुन्जेल आफूसँगै रहन्छ भन्ने हेक्का राख्नुपर्छ । "क्लेनब्युटेरोल" प्रयोग गरेर घटेको बोसो दीगो हुँदैन, केही समयमै शरीरमा बोसो भरिन शुरु हुन्छ, अझ पहिलेको भन्दा धेरै भरिने जोखिम हुन्छ ।

अलि अनुशासित हुने हो भने, अलिकति धैर्यता हुने हो भने व्यायाम र सादा अनि सरल खानपिनले नै बोसो घटाउन, तौल घटाउन, ज्यान बनाउन र स्वस्थ रहन सकिन्छ । आफ्नो शरीरको बोसो घटाउन र शरीरलाई क्षणिक राम्रो देखाउन जनावरको विभिन्न रोगको औषधी आफ्नो शरीरमा छिर्न नदिनुहोस् र फ्याट लस जनावरको रेसबाट अलग्गिनुहोस् । स्वस्थ हुनुमा जति आनन्द अरुमा हुन्न ।

सन्जित श्रेष्ठ

Recent News