क्र्यास डायटः फाइदा कि बेफाइदा ?

क्र्यास डायटः फाइदा कि बेफाइदा ?

मोटोपन एक समस्या बन्दै गएको तथ्यलाई आजको समाजले नकार्न सक्दैन । शरीरको तौल घटाउने काम आज आम मानिसको लागि चुनौतीपूर्ण जीवनशैली बन्दै गएको छ । विभिन्न अनुसन्धानबाट व्यायाम बिना स्वस्थ जीवनको परिकल्पना समेत गर्न नसकिने तथ्य पुष्टी भइसक्दा पनि व्यायामको बाटो पहिल्याउन नसक्नु नै मोटोपनको उचित व्यवस्थापन गर्न बिफल हुनुको प्रमुख कारण बन्दै गएको छ । हो, म मान्छु, शारीरिक व्यायाम गर्न त्यति सजिलो छैन, अझ शुरु शुरुमा त निकै नै कठीन हुन्छ, ज्यान दुखेर । वास्तवमा त्यही पीडा भित्र नै लुकेको हुन्छ एउटा स्वस्थ शरीर जसरी हिलोको बिचमा फुल्छ कमल । कमलको फूल टिप्न हिलोमा खुट्टा गाड्नु परेको जस्तै आफ्नो स्वस्थ शरीर पहिचान गर्न व्यायामको पीडाबाट गुज्रनै पर्छ ।

व्यायामको त्यो पीडा सम्झेर पनि अधिकांश मोटाएका व्यक्तिहरु आफ्नो तौल घटाउन सहज बाटोको खोजीमा हुन्छन । अर्को पाटोमा अत्ति धनाढ्य व्यवसायीहरु खानाको कारण मात्रै मोटोपनबाट छुट्कारा पाउन सकिन्छ भन्ने भ्रम फैलाउँदै अनेक डायट प्रणालीहरुमा लगानी गर्छन, तौल घटाउने विभिन्न सप्लिमेन्ट अनि औषधीहरुको उत्पादन बढाउँछन । संसारका अधिकांश मानिसहरु अल्छी भइसकेका छन र छिटो छरितो बाटो कुरेर बसेका छन भनी उनीहरुलाई ज्ञान नहुने त कुरै हुँदैन । यस्तो अल्छीहरुको डाटा निकाल्न लाखौं खर्च गरेका हुन्छन सर्वेमा । त्यसैले सप्लिमेन्ट र औषधीको उत्पादनमा लाखौं डलर खर्च गरेका हुन्छन अनि यसको उपयोगिताको बारेमा भयंकर खोज, प्रयोग र परिक्षण गरेका हुन्छ्न । त्यसपछि फेरि लाखौं खर्च गरेर मिडियामा छाउँछन, नामी नामी सेलिब्रिटीहरुलाई ब्यापक पैसा पेलेर त्यसबाट आएको नतिजा भनेर छ्यापछ्याप्ती बनाउँछन । व्यायाम नगरी घट्ने सपना बोकेर बसेकाहरुको निम्ति यस्तो नतिजा देख्दा ढुंगा खोज्दा देउता मिले जस्तो हुन्छ । यसरी यो १५-२० वर्षको  अबधिमा यस्ता धेरै डायट सिस्टम आए र बिलाएर गए । अब तिनै धनाढ्यहरु नौलो तरिकाबाट फेरि अर्को डायट सिस्टम लिएर आउँछन । आफ्नो शरीरको तौल घटाउने मात्र होइन उल्टो पैसा पनि कमाउन सकिने सिस्टम जन्माउँछन र खूंखार मार्केटिङ्ग गर्नेहरुलाई समात्छन । अनि त्यस्तै अल्छीहरुलाई तौल घटाउने र पैसा कमाउने प्रलोभनमा पार्छन र धेरै जालमा पर्छन पनि, नेटवर्क बिजिनेसको सिस्टममा । उनीहरुलाई त के छ, जसरी हुन्छ सामान बिकाउनु छ र नाफा कमाउनु छ । यस्तो व्यापक मार्केटिङ्ग गर्ने डायट सिस्टम नै "क्र्यास डायट" हो जसले छोटो समयमा अत्याधिक तौल घटाउन मद्दत गर्छ ।

के हो त "क्र्यास डायट" ?

कहिल्यै पनि जिममा व्यायाम नगरेकी एउटी महिला आफ्नो शरीरको तौल घटाउने उद्देश्य लिएर हाम्रो जिममा आइन् । कहिले पनि व्यायाम नगरेको व्यक्तिहरुलाई व्यायाम सिकाउने मेरो आफ्नै तौर तरिका छ जसलाई व्यायाम गर्न सिकाउने मात्र होइन शरीरको बनावट देखि शरीरले काम गर्ने सिस्टम अनि खानाहरुले शरीरमा गर्ने काम र असरको उदाहरण सहित व्याख्या गर्ने गर्दछु । ट्रेनिङ शुरु गरेको केहि दिन पछि उनले कुरा खोलिन्, "म पहिले वेट लसको (तौल घटाउने) प्रोग्राममा बसेको थिएँ, त्यसमा डायट सिस्टम हुन्छ र वेट लस गर्ने सप्लिमेन्टहरु पनि एकदम राम्रो छ । दाइ पनि लाग्नु भयो भने धेरै फाइदा हुन्छ" ।

मैले सोधें, "फाइदाको कुरा छोड, त्यत्रो वेट घटाएको कसरी यस्तो बढ्यो त ?"

उनले जवाफ फर्काइन्, "खोइ, थाहै भएन । पछि एक्कासि मोटाउन थालें ।"

मैले फेरि सोधें, "सधैं घटिरहने सिस्टम चैं सिकाउँदैन त्यो प्रोग्राममा ?" 

उनले भनी, "एकचोटि घटाउन चैं काम गर्ने रहेछ, त्यस्तो बढ्नै नदिने सिस्टम चैं सिकाएन ।"

मैले थपें, "बिचरा तिमी ठगियौ । सधैं घटिरहने सिस्टम नै हुँदैन त के सिकाउँछ तिमीलाई ।"

उनी बोल्नै सकिनन् ।

मैले उनलाई सम्झाउन थालें । हाम्रो शरीर नचली बस्न सक्दैन र शरीर चल्नको लागि उर्जा (एनर्जी) चाहिन्छ । हामी सुतिरहँदा पनि शरीरको भित्री अंगहरु चलिरहेकै हुन्छ र हाम्रो शरीर चौबिसै घण्टा काम गरिरहने एउटा मेसिन हो जुन हामी बाँचुन्जेल काम गरिरहेकै हुन्छ । यो शारीरिक मेसिन चल्नको लागि उर्जा चाहिन्छ । त्यो उर्जा हामीले खाएको खाना बाट आउँछ, शरीर भित्र सिञ्चित भएको बोसो (फ्याट) बाट आउँछ अनि हाम्रो आफ्नै मांशपेशी (मसल्स) बाट आउँछ । एउटा साधारण शरीरलाई दैनिक चाहिने न्यूनतम उर्जाको मापन हुन्छ जसलाई क्यालोरी भनिन्छ । तिमीले जुन डायट प्रोग्रामलाई पछ्यायौ त्यसमा तिम्रो शरीरलाई चाहिने न्यूनतम क्यालोरी भन्दा अत्याधिक कम क्यालोरी सेवन र तौल घटाउने सप्लिमेन्टको प्रयोग गर्दा एकदम चाँडै शरीरको तौल घट्छ जुन नतिजा तिमी आफैले पनि अनुभव गरेको हो । केही हप्तासम्म यसरी अत्याधिक क्यालोरी घटाएर खाने डायट सिस्टम नै क्र्यास डायट हो, अध्ययनको क्रममा लामो समयसम्म पढ्न नसक्ने हुँदा क्र्यास कोर्स गरे जस्तै । उनी सुनिरही ।

क्र्यास डायटको फाइदा के ?

कसैलाई अत्यन्त छिटो तौल घटाउन परेमा क्र्यास डायटले राम्रो काम गर्दछ । शरीरलाई आवश्यक न्यूनतम क्यालोरी भन्दा अधिक न्यून सेवन गरेर र त्यस्तै तौल घटाउने सप्लिमेन्ट र औषधीहरु प्रयोग गरेमा अलौकिक तवरमा शरीरको तौल घट्छ । आफूलाई अत्यन्त मन परेको लुगा भित्र अट्न होस्, पार्टीमा दुब्लो देखिन होस् या कुनै विशेष कार्यक्रमको तयारीको निमित्त जति नै गाह्रो भए पनि क्र्यास डायटले कसैलाई निरास तुल्याउँदैन । यस्तो डायटले क्षणिक खुशी प्रदान गर्ने कुरालाई कसैले नकार्न सक्दैन ।

क्र्यास डायटको बेफाइदा के ?

मोटोपनले जकडेको व्यक्तिलाई लाग्छ पूरा शरीरमा बोसो मात्रै हुन्छ । शरीरको बारेमा नबुझ्दा क्र्यास डायट गरेर अत्याधिक तौल घट्दा पूरै बोसो घटेको भनी दिग्भ्रमित हुन बाध्य हुन्छन् । यसरी डायट मात्रै गर्दा (शारीरिक व्यायाम बिना) तौल घट्छ भने त्यो बोसोको मात्रै घट्छ भनेर सोचिन्छ या भनिन्छ भने त्यो सरासर गलत हुन्छ । हाम्रो शरीर हाड, मासु, बोसो पानी र कपालको (नगन्य भए पनि) समिश्रण तौल हुन्छ र यत्ति कुरा याद राख्नु जरुरी छ कि आजसम्म विज्ञानले त्यस्तो चिज उत्पादन गर्न सकेको छैन जसले बोसो मात्रै छानी छानी घटाउँछ । भोलिको दिनमा त्यस्तो चिज आउला नआउला त्यो समयले बताउँछ तर क्र्यास डायटले तौल घट्दा बोसो मात्र नभई मांशपेशी र पानीको तौल पनि घटेको हुन्छ । शुरुमा कहिल्यै नघटेको तौल घटेको देख्दा अत्यन्त खुशी लाग्नु स्वभाविकै हो तर जब शरीरबाट मांशपेशी र पानीको मात्रा घट्दै जान्छ तब शरीरको स्थितिले अर्कै मोड लिन थाल्छ । शरीरमा "क्यालोरी डेफिसिट", न्यूनतम क्यालोरीमा कटौती गर्दा शरीरलाई दैनिक कारोबार गर्न चाहिने न्यूनतम भिटामिन तथा खनिज पदार्थहरुमा ह्रास आउन थाल्छ । यही भिटामिन र खनिज पदार्थहरुले नै हाम्रो शरीरमा प्रमुख भूमिका निर्वाह गरेको हुन्छ शरीरलाई स्वस्थ रुपमा चलायमान राख्नलाई । थप भन्नु पर्दा शरीरको सम्पूर्ण कार्य प्रणालीहरु यिनै भिटामिन तथा खनिज पदार्थहरुमा निर्भर हुन्छ । यसरी पौष्टिक खानेकुराहरु कटौती गर्दा गर्दै अत्यावश्यक तत्वहरुको कमी हुँदा शरीरको सिस्टम धराशायी हुने पक्का छ । धेरै पछि दुब्लाउँदा शरीर हल्का भएको र आत्मविश्वास बढेको महशूस भए पनि केही महिनामै मेटाबोलिज्म खलल हुन पुग्छ, शरीरमा कमजोरीको लक्षण देखा पर्न थाल्छ, छिटो थकानको महशूस हुन थाल्छ, पाचन प्रणालीमा गडबडी शुरु हुन थाल्छ, शरीर दुख्ने, हाडजोर्नी दुख्ने जस्ता समस्याबाट गुज्रिनु पर्ने हुन्छ ।

अर्को बेफाइदा भनेको मोटाइसकेको शरीर एक महिनामै दुब्लाउँदा जीवनभर दुब्लो नै भइराख्दैन । एउटा सानो कुवाबाट एक गाग्री पानी झिके जस्तै हो । त्यस कुवाको सानो मूलबाट एक गाग्री पानी बराबर कुवामा पुनः भरिन लाग्ने समय मात्र हो, फेरि कुवामा पानी जत्तिको त्यत्ति नै हुन्छ । क्र्यास डायट गरेर घटाएको शरीर त्यहि स्थितिमा धेरै टिक्न सक्दैन । शरीरले पुरानै स्थितिमा फर्कन खोज्छ र त्यो समयमा क्र्यास डायट पनि बिफल हुँदै जान्छ अनि बिस्तारै बोसोको भण्डारण शुरु हुन थाल्छ । लामो समयसम्म क्र्यास डायट गर्दा शारीरिक तथा मानसिक रुपमै मानिस बिक्षिप्त हुन थालेको हुन्छ र बिस्तारै खाना बढाउँदै जाँदा बोसोका कोषिकाहरु भोको बाघ झैं मुख "आँ~~~~" गरेर बसेका हुन्छन् र केहि अबधिमै बोसो थपिन थाल्छ । पहिलेको भन्दा धेरै तौल बढ्ने संभावना हुन्छ ।

अर्को संभावित बेफाइदा भनेको एकचोटि घटिसकेपछि फेरि मोटाउँछु कि भन्ने त्रास उत्पन्न हुन सक्छ जसले गर्दा खानेकुरा खानै डर लाग्ने र खाना देख्ने बित्तिकै अत्यास लाग्ने हुन सक्छ । यस्तो स्थितिमा शरीरमा बोसो मात्रै होइन मांशपेशीको अत्याधिक नाश हुन्छ, हाडको घनत्वमा ह्रास आउँछ र अन्तरालमा मानसिक रुपमै असन्तुलित हुन पुग्छ जसलाई "यानोरेक्सिया" भनिन्छ । यदि यस्तो स्थिति आएको छ भने दुब्लो छु, फिट छु भनेर मख्ख नपरी सिधा डाक्टरसँग परामर्श लिइहाल्नुपर्छ नत्र यसले पूरै मानसिकताको साथसाथै शरीरलाई थिलोथिलो बनाइदिन्छ ।

२५औं वर्षको बडिबिल्डिङ्ग अनि फिटनेसको यात्रामा मैले यस्तो थुप्रै परिस्थितिहरु सँग सक्षातकार गर्न पाएको छु । शारीरिक व्यायाम त एउटा स्वस्थ शरीरको साद्ध्य मात्र हो र साधक त अन्तरमन हो । बडिबिल्डिङ्ग प्रतियोगीतामा भाग लिने खेलाडीहरुले यस्तो क्र्यास डायट भन्दा पनि कडा डायट गर्नुपर्ने हुन्छ र आजसम्म त्यस्तो बडिबिल्डर देखेको छैन जो स्टेजमा देखिएको जस्तै शरीर जीवनभर कायम गरेको होस् । प्रतियोगीता सकेको केही हप्तामै शरीरको बनावट परिवर्तन भइहाल्छ । त्यसैले आफू भित्रको मनलाई जगाउनुपर्छ शारीरिक व्यायामको कुनै विकल्प छैन भनेर । क्र्यास डायट केही क्षणको लागि राम्रो देखिए पनि लामो समयसम्मको निम्ति घातक भएको म स्वयंले धेरै भेटेको छु । छिटो छरितो घट्नु भन्दा पनि व्यायाम नगरी घट्न चाहनेहरुलाई "मूर्गा वा मूर्गी" बनाई पैसा कमाउने लोभ देखाउँदा हाम्रो समाज स्वस्थ नभई अस्वस्थता तिर लम्किंदै जान्छ । पढ्न र बुझ्न सक्ने शिक्षित क्षमतावानहरु नै बुझी नबुझी पैसाको लोभमा परी आफ्नो र अरुको स्वास्थ्यमा नकारात्मक असर पार्न तल्लिन हुन्छ भने भिरबाट हामफाल्न खोज्ने गोरुलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिन्न भने जस्तै हुन्छ । शिक्षित हुनु भनेको के सही के गलत खुट्याउन सक्नु पनि हो । त्यसैले आफ्नो विवेकको ढोका उघारी हाम्रो समाजलाई साँच्चिकै स्वस्थ समाज बनाउनको लागि सधैं सचेत हुनुहोस्, आफ्नै अन्तरमनलाई जगाउनुहोस र आफ्नै शरीर बिगारेर धनाढ्यलाई झनै धनी नबनाउनुहोस् ।

सन्जित श्रेष्ठ

Recent News